आधुनिक कालमा बडामहाराजा पृथ्वीनारायण शाहको उदय भइसकेपछि धार्मिक रुपमा देवघाटक्षेत्रको थप उत्थान हुन थाल्यो । देवघाट एउटा प्रमुख बाह्य आवागमन मार्गका रूपमा रह्यो भने राणाकालमा आएर व्यापार गर्ने नयाँ मार्गहरू खोलिएका कारण देवघाटको धार्मिकपक्ष ओझेलमा प-यो । २००७ सालको परिवर्तन सँगसँगै २०१३ सालदेखि चितवनमा नयाँ बसोबासको थालनीपश्चात् देवघाटको धार्मिक महत्त्व र विकासले गति लिन थाल्यो । देवघाटमा रहेका मठमन्दिर, मूर्ति तथा भग्नावशेषहरूको संरक्षण–सम्बद्र्धन एवं विकासका निम्ति सरकारी पक्षबाट पनि ध्यान दिन थालिएको पाइन्छ ।
देवघाटक्षेत्रमा विभिन्न कलाकृतिका मठमन्दिरहरू रहेका छन्, जुन मठमन्दिरहरूमध्ये कुनै सोह्रौँ शताब्दीदेखि भएको मानिएको छ भने कुनै २०÷२१ औँ शताब्दीमा बनेका र बनिरहेका संरचनाहरू रहेका छन् । यी मन्दिरहरू प्यागोडा, शिखर, गुम्बज र त्रिरथ मिश्रित शैलीमा बनेका छन् ।
मन्दिरहरू धार्मिक सम्प्रदायको आधारमा शैव, वैष्णव भनी आस्थागत आधारमा विभाजित गरिएका पाइन्छन् । यसैगरी यी संरचनाहरूमध्ये कतिपय पुरातात्त्विक महत्त्वका भएकाले पुरातात्विक र धार्मिक महत्वका भनी दुइ वर्गमा वर्गीकृत गरिएको छ । खासगरी देवघाटक्षेत्रमा रहेका सर्वाधिक पुराना ऐतिहासिक तथा पुरातात्विक दृष्टिले महत्त्वपूर्ण मानिएका वागीश्वरी (स्थल) मन्दिर, मुकुन्देश्वर मन्दिर प्राङ्गण, मौलाकालिका (डाँडा मन्दिर) आदि रहेका छन् भने अन्य मठमन्दिरहरू आस्थागत आधारमा व्यक्ति, संघ–संस्थाद्वारा निर्माण गरिएका आधुनिक प्रकारका रहेका छन् । यसका साथै देवघाटधामको विकासमा विभिन्न सन्तमहन्त, व्यक्ति संघ–संस्था एवं सरकारी स्तरबाट समेत योगदान पु-याएको देखिन्छ ।
पौराणिककालदेखि नै चर्चित हुँदै आएको देवघाटधाममा लाग्ने माघेसंक्रान्ति, ठूली एकादशी आदि विभिन्न पर्व–मेला, उत्सव लाग्नुका साथै सन्न्यास संस्कार–दीक्षाका साथै ग्रहणको बेलामा स्नान, विभिन्न पर्वहरूमा पूजा–आजा, श्राद्ध–तर्पण आदि हुँदै आएको पाइन्छ । देवघाटधामको प्राकृतिक एवं पर्यावरणीय महत्त्व पनि रहेको छ । धेरै नदीहरू साथमा लिएर बगेका प्रसिद्ध त्रिशूली र कालीगण्डकी गरी दुई नदीको सङ्मस्थलमा पहाडको खोँच, मैदानी भागको शिर, वरिपरि हरियो जङ्गल एवं जडीबुटीका वृक्षहरूले वेष्टित भएको अत्यन्त मनोरम प्राकृतिक भूभाग देवघाटधाम पर्यावरणीय हिसाबमा पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यो पहाड र तराईबाट आउने–जाने घाट परेका कारण प्राचीनकालदेखि नै व्यापारिक मार्ग थियो ।
यी विविध महत्त्वहरूसँगै अहिले देवघाटधामको सामाजिक तथा पर्यटकीय महत्त्व पनि बढिरहेको छ । आज देवघाटधाममा जुन कल्पवासी र तपस्वीहरूको घुइँचोे बढेको छ त्यस्तै साधु, सन्त र महन्तहरू एवं अन्य समुदायको आकर्षण स्थल बनेको छ । यसले गर्दा पनि अनेक आश्रमहरू बनेका छन् । गलेश्वरबाबा, महेशसन्न्यास, हरिहरसन्न्यास आश्रमलगायत अन्य आश्रमहरू र वृद्धवृद्धाहरूका लागि आश्रम एवं भजन कीर्तनस्थल धर्मशालाहरू पनि निर्माण भएका छन् ।
देवघाट विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको नजिक भएकाले निकुञ्जमा पाइने एकसिङ्गे गैंडा, घडियाल गोही र सैयौँ थरिका पशुपक्षी र वनस्पति पाइने हुनाले विश्वका पर्यटकहरूको ध्यान यतातिर बढ्दै गएको छ । देवघाटधामको चौतर्फी विकास गर्नका निम्ति वि.सं. २०६४/०६५ सालमा एउटा गुरुयोजना निर्माण र यसको नक्शाङ्कन समेत गरेको छ । देवघाटधाम र वागीश्वरीको वैदिक, धार्मिक र ऐतिहासिक महत्त्व के–के छन् भन्ने सन्दर्भमा नेपाल पर्यावरण संरक्षण तथा सम्बद्र्धन संघका अध्यक्ष सुदर्शन प्रधानले योगी नरहरिनाथसँग गरेको अन्तर्वार्तामा देवघाटको प्रसङ्गमा यसको महत्त्व र परिचय वेददेखि लिएर आजसम्मका सम्पूर्ण ग्रन्थहरूमा पाइन्छ, एकातिर कालीगण्डकी कालो पानी र अर्कोतिर सेती गण्डकी सेतो पानी लिएर बगेकी त्रिशूली नदीले ६ गण्डकीलाई साथमा लिएर पूर्वतर्फबाट आएको र पश्चिमतर्फबाट कृष्णगण्डकी अरू अनेक नदीहरूलाई लिएर एक्लै आएको सातहजार नदीहरूको संगम देवघाटधाममा हुन्छ भनी भनिएको छ ।